FAQs Complain Problems

संक्षिप्त परिचय

वि.सं. २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गाविसहरु (मेलम्ची, ज्यामिरे, शिखरपुर, तालामाराङ, सिन्धुकोट, बाँसवारी र फटकशिला) मिलाएर मेलम्ची नगरपालिका गठन गरिएकोमा राज्यको पुर्नसंरचना पश्चात वि.स. २०७३ साल फाल्गुण २६ गते साविकका ४ वटा गाविसहरु (भोटेचौर, हैबुङ, थकनी र दुवाचौर) समेत थप गरी मेलम्ची नगरपालिकाको पुर्नगठन भएको छ  । पुर्नगठन पश्चात यस नगरपालिकामा हाल  १३ वटा वडाहरु रहेका छन् ।

१५८.१७ वर्ग कि.मी. क्षेत्रफल भएको यस नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या ४५३४३ रहेकोमा पुरुषको जनसंख्या २३६१४ र महिलाको जनसंख्या २१७२९ रहेको छ भने जम्मा ९९९२ घरधुरीहरु रहेका छन् । नेपालको संविधान, २०७२ ले दिएको अधिकार, स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्था तथा मेलम्ची नगरपालिकाबाट जारी गरिएको ऐन, नियमावली र कार्यविधि बमोजिम यस नगरपालिकाले आफ्ना विकास निर्माणका कार्यहरुका साथै विषयगत शाखाहरु शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, सहकारी, महिला तथा बालबालिका, सामाजिक विकास, योजना लगायतसंग सम्बन्धित कार्यहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ । 

नेपालको राजधानी काठमाण्डौबाट उत्तर–पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो । यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ । 

यस नगरपालिकाले तय गरेको विकासका चार खम्बे नीति कृषि, पर्यटन, उद्योग र जलाधारलाई मध्यनजर गर्दै नगरपालिकाले कृषि, पर्यटन, उद्योग र जलाधारको विकासलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । नगरपालिका क्षेत्र भित्रका कृषि योग्य जमिनको पहिचान गरी केही क्षेत्रहरुलाई मकै जोन, कागती पकेट, किवी पकेट र चिया पकेट क्षेत्रको रुपमा घोषणा गरी कार्यक्रम अघि बढाइएको छ । यस नगरपालिका क्षेत्रको ईन्द्रावती तथा मेलम्ची नदीलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्भाव्यता अध्ययनको कार्य भैरहेको छ ।

भौगोलिक विविधताको कारण नगरपालिकाको विभिन्न क्षेत्रमा पाइने हावापानी फरक फरक प्रकारको रहेको छ । उचाईको वृद्धि सँगसँगै चिसोको मात्रामा वृद्धि हुँदै जाने हुँदा यहाँ तातो हावा बहने मेलम्ची नदी किनारको क्षेत्र देखि बाह्रै महिना चिसो हुने भोटेचौर, हैबुङ्ग, गुफा चांखु जस्ता स्थानहरु रहेका छन् । यस नगरपालिकामा चैत्र महिना देखि असोजको प्रारम्भसम्म गर्मी र असोज देखि फागुन महिनासम्म जाडो हुने भएकोले यहाँको हावापानीमा मौसम अनुसार विविधता रहेको पाइन्छ ।

यस नगरपालिकामा ग्रिष्म र वर्षा ऋतुमा मनसुनी बर्षा बढी हुने गर्दछ । मेलम्ची नगरपालिका दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असार देखि भाद्रसम्ममा प्रशस्त पानी पर्दछ । नगरका मुख्य जलाधार क्षेत्रहरू न्यून चापीय वायु हुँदै जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुने गर्दछ । समग्र नगरमा बार्षिक सरदर १६१५ मि. लि. सम्म बर्षा हुने गर्दछ ।

महाभारत क्षेत्र अन्तर्गत पर्ने मेलम्ची नगरपालिका जैविक विविधताले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा पाइने मुख्य जडिबुटीहरूमा लोठसल्ला, सुगन्धवाल, चिराईतो, जटामसी, धसिंगरे, कुटकी, पाखनवेद, कुरिलो, सतिवयर, नूनढिकी, झ्याउ, पदमचाल, गुराँस, लप्सी, बेल, चुत्रो, दामपाते, घ्युकुमारी, काँचोपात, दतिवन आदि हुन् । यस क्षेत्रमा जडिबुटीको प्रचुर संभावना रहेकोले केही स्थानीय व्यक्तिहरुले व्यवसायिक रुपमा जडिबुटी खेती गर्न सक्ने संभावना रहेको छ भने केही किसानहरूले जडिबुटी खेतीको शुरूवात गरेका छन् । यस क्षेत्रमा पाइने रुख विरुवाहरुमा साल, अस्ना, खयर, कटुस, चिलाउने, उत्तिस, सल्ला, मौवा, लाँकुरी, गुराँस मूख्य रुपमा रहेका छन्  । त्यस्तै डाले घाँसमा चिउरी, बडहर, कुटमिरो, किम्बु, खनिउँ, इपिल आदि पाइन्छ । वन क्षेत्रको विकास विस्तार र संरक्षणको लागि केही सामुदायिक तथा कवुलियत वन उपभोक्ता समितिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यस नगर क्षेत्रमा पाइने मुख्य जनावरहरूमा सालक, चितुवा, बाघ, भालु, बँदेल, दुम्सी, खरायो, स्याल, रतुवा मृग, बाँदर आदि छन् भने चराचुरूङ्गीमा काग, परेवा, चिवे, कालिज, हुचिल, लाटोकोसेरा, भंगेरा, मैना, सुगा, बाज, ठेउवा, जुरेली, फिस्टा, तित्रा, बकुल्ला, चिल, गिद्ध,  ढुकुर जस्ता पंक्षीहरु रहेका छन् । विभिन्न किसिमका माछाहरु, गोहोरो, सर्प, छेपारो, माउसुली, भ्यागुतो, विच्छी, फट्यांग्रा, मौरी, अरिङ्गाल, बारूलो लगायतका विभिन्न जिवजन्तु तथा किराहरू पाइन्छ  ।

मेलम्ची नगरपालिका भित्र हिन्दु, बौद्ध, क्रिश्चियन लगायतका धर्मावलम्बीहरुको बसोबास रहेको पाइन्छ । यस क्षेत्रमा बोलिने मातृ भाषामा नेपाली, नेवारी, तामाङ, दनुवार, माझी, मगर, शेर्पा आदि रहेका छन ।

मेलम्ची नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । यस क्षेत्रमा त्रिवेणीघाट, फट्केश्वर महादेव, ईन्द्रेश्वर महादेव, कोटदेवी, सितलादेवी, धौलेश्वरी, कुण्डेश्वर, सिद्धेश्वर,  कृष्ण मन्दिर लगायका अन्य मठ मन्दिर र गुम्बाहरु रहेका छन् । यस नगरपालिका क्षेत्रमा विशेषगरी ब्राह्म्मण तथा क्षेत्री जातीले दशै, तिहार, मातातिर्थ औंसी, बुद्ध जयन्ती, गुरु पुर्णिमा, साउने संक्रान्ती, नाग पञ्चमी, रक्षा बन्धन, कृष्ण अष्टमी, तीज, सोह्र श्राद्ध, धान्य पुर्णिमा, स्वस्थानी पूजा, माघे संक्रान्ती, श्रीपञ्चमी, महाशिवरात्री, फागु पुर्णिमा, चैते दशैं आदि पर्वहरु मनाउने गर्दछन् भने ल्होसार, घेवा जस्ता पर्व तथा रितिरिवाज तामाङ समुदायले  मनाउँछन् । नेवार समुदायले ब्राह्म्मण समुदायले मनाउँने अन्य चाडपर्वको अलवा तिहारको भाइटिकाको दिन म्ह पूजा समेत गर्दछन् । त्यसैगरी माझी समुदायमा आफ्नो पितृको सम्झनामा पित्रा देखाउने प्रचलन रहेको छ । 

यस नगरपालिकामा रहेको कूल जनसंख्याको जातीय बनावट हेर्दा बहु–साम्प्रदायीक जात जातीहरू पाउन सकिन्छ । खास गरी मंगोलियन र आर्य सम्प्रदायहरू अन्तर्गतका विभिन्न जात जातीहरू विगत देखि नै बसोवास गर्दै आएका छन् । मंगोलियन सम्प्रदायहरूमा तामाङ, मगर, गुरूङ, दनुवार, माझी आदि मुख्य रहेका छन् ।

मेलम्ची नगरपालिका कृषि क्षेत्रको हिसाबले प्रचुर संभावना बोकेको क्षेत्र हो । नगरले कृषि क्षेत्रको विकासलाई आधार स्तम्भको रुपमा अंगिकार गरेकाले सोही बमोजिम कृषि कार्यक्रम अन्तर्गत मकै जोन, कागती पकेट क्षेत्र, किवी पकेट क्षेत्र, चिया पकेट क्षेत्रको घोषणा गरी कार्यक्रम संचालन गरिएको छ ।

नगरपालिका क्षेत्र भित्र उद्योग व्यवसायको रुपमा ईन्द्रावती नदी क्षेत्रमा हाल ९ वटा क्रसर उद्योगहरु संचालनमा रहेका छन् । यी क्रसर उद्योग व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिव १०० जना स्थानीय बासिन्दाहरुले रोजगारी पाउँनुका साथै नगरपालिकाको आन्तरिक आम्दानीमा समेत योगदान पुगेको छ ।

साना तथा मझौला खालका व्यवसायहरु नगरमा विधिवत रुपमा दर्ता गरी संचालनमा आएका छन् । हालसम्म यस नगरपालिकामा होटल व्यवसाय, थोक तथा खुद्रा व्यापार, फर्निचर, माछा पालन, कुखुरापालन, पशुपालन लगायतका व्यवसाय दर्ता हुन आएका छन् । नगरको पर्यटकीय स्थलको रुपमा मेलम्ची बजार, भोटेचौर चियाबगान, ईन्द्रावती नदी, हैवुङ चिसापानी, तपचुली डाँडा, पाटी भञ्ज्याङ, सुलिकोट ध्याङ, चाङखु गुफा, धौले डाँडा, ककनी आदि प्रमुख रुपमा रहेका छन् । यस्ता पर्यटकीय स्थलहरुले नगरको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ ।

मेलम्ची नगरपालिका क्षेत्र भित्र सामुदायिक क्याम्पस दुई वटा, सामुदायिक विद्यालय सत्तरी वटा, संस्थागत विद्यालय नौ वटा, सामुदायिक सिकाई केन्द्र चार वटा, समुदायमा आधारित बाल विकास केन्द्र पचपन्न वटा, श्रोत कक्षा एक वटा, प्राविधिक धार संचालन भएका विद्यालय दुई वटा र वैकल्पिक विद्यालय एक वटा रहेका छन् ।

मेलम्ची नगरपालिका क्षेत्रभित्र प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी १०, पोलिक्लिनिक निजी १, डेन्टल निजी २, शहरी स्वास्थ्य केन्द्र २, आर्युवेद औषधालय २, एकिकृत सेवा केन्द्र १, शहरी स्वास्थ्य इकाई २, आँखा उपचार केन्द्र १, भोटेचौर स्वास्थ्य सेवा संचालन समिति १, धुलिखेल अस्पताल आउटरिच क्लिनिक १ रहेका छन् । माथि उल्लेख भएका स्वास्थ्य संस्थाहरुबाट यस नगरभित्र आधारभूत स्वास्थ्य सेवा प्रदान गरिंदै आएको छ ।