समाचार
मेलम्ची नगरपालिकाको परिचय
वि.सं. २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गाविसहरु (मेलम्ची, ज्यामिरे, शिखरपुर, तालामाराङ, सिन्धुकोट, बाँसवारी र फटकशिला) समावेश गरेर मेलम्ची नगरपालिका गठन गरिएकोमा राज्यको पुर्नसंरचना पछि वि.स. २०७३ साल फाल्गुण २६ गते साविकका ४ वटा गाविसहरु (भोटेचौर, हैबुङ, थकनी र दुवाचौर) समेत थप गरी मेलम्ची नगरपालिकाको पुनर्गठन गरिएको छ । राज्यको पुनर्संरचना पछि यस नगरपालिकामा हाल १३ वटा वडाहरु रहेका छन् ।
160.63 वर्ग कि.मि. क्षेत्रफल भएको यस नगरपालिकामा २०७८ को राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या ४१०६३ रहेकोमा पुरुषको जनसंख्या 19963 र महिलाको जनसंख्या 21100 रहेको छ भने जम्मा 11180 घरधुरीहरु रहेका छन् । नेपालको संविधान, २०७२ ले दिएको अधिकार, स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्था तथा मेलम्ची नगरपालिकाबाट जारी गरिएको ऐन, नियमावली, कार्यविधि, निर्देशिका र मापदण्ड बमोजिम यस नगरपालिकाले आफ्नो अधिकार क्षेत्र भित्रका कार्यहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ ।
नेपालको राजधानी काठमाडौंबाट उत्तर–पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो । यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ ।
भौगोलिक विविधताको कारण नगरपालिकाको विभिन्न क्षेत्रमा पाइने हावापानी फरक फरक प्रकारको रहेको छ । उचाईको वृद्धि सँगसँगै चिसोको मात्रामा वृद्धि हुँदै जाने हुँदा यहाँ तातो हावा बहने मेलम्ची नदी किनारको क्षेत्र देखि बाह्रै महिना चिसो हुने भोटेचौर, हैबुङ्ग, गुफा चांखु जस्ता स्थानहरु रहेका छन् । यस नगरपालिकामा चैत्र महिना देखि असोजको प्रारम्भसम्म गर्मी र असोज देखि फागुन महिनासम्म जाडो हुने भएकोले यहाँको हावापानीमा मौसम अनुसार विविधता रहेको पाइन्छ ।
यस नगरपालिकामा ग्रिष्म र वर्षा ऋतुमा मनसुनी बर्षा बढी हुने गर्दछ । मेलम्ची नगरपालिका दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असार देखि भाद्रसम्ममा प्रशस्त पानी पर्दछ । नगरका मुख्य जलाधार क्षेत्रहरू न्यून चापीय वायु हुँदै जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुने गर्दछ । समग्र नगरमा बार्षिक सरदर १६१५ मि. लि. सम्म बर्षा हुने गर्दछ ।
महाभारत क्षेत्र अन्तर्गत पर्ने मेलम्ची नगरपालिका जैविक विविधताले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा पाइने मुख्य जडिबुटीहरूमा लोठसल्ला, सुगन्धवाल, चिराईतो, जटामसी, धसिंगरे, कुटकी, पाखनवेद, कुरिलो, सतिवयर, नूनढिकी, झ्याउ, पदमचाल, गुराँस, लप्सी, बेल, चुत्रो, दामपाते, घ्युकुमारी, काँचोपात, दतिवन आदि हुन् । यस क्षेत्रमा जडिबुटीको प्रचुर संभावना रहेकोले केही स्थानीय व्यक्तिहरुले व्यवसायिक रुपमा जडिबुटी खेती गर्न सक्ने संभावना रहेको छ भने केही किसानहरूले जडिबुटी खेतीको शुरूवात गरेका छन् । यस क्षेत्रमा पाइने रुख विरुवाहरुमा साल, अस्ना, खयर, कटुस, चिलाउने, उत्तिस, सल्ला, मौवा, लाँकुरी, गुराँस मूख्य रुपमा रहेका छन् । त्यस्तै डाले घाँसमा चिउरी, बडहर, कुटमिरो, किम्बु, खनिउँ, इपिल आदि पाइन्छ । वन क्षेत्रको विकास विस्तार र संरक्षणको लागि केही सामुदायिक तथा कवुलियत वन उपभोक्ता समितिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यस नगरपालिका क्षेत्रमा पाइने मुख्य जनावरहरूमा सालक, चितुवा, बाघ, भालु, बँदेल, दुम्सी, खरायो, स्याल, रतुवा मृग, बाँदर आदि छन् भने चराचुरूङ्गीमा काग, परेवा, चिवे, कालिज, हुचिल, लाटोकोसेरा, भंगेरा, मैना, सुगा, बाज, ठेउवा, जुरेली, फिस्टा, तित्रा, बकुल्ला, चिल, गिद्ध, ढुकुर जस्ता पंक्षीहरु रहेका छन् । विभिन्न किसिमका माछाहरु, गोहोरो, सर्प, छेपारो, माउसुली, भ्यागुतो, विच्छी, फट्यांग्रा, मौरी, अरिङ्गाल, बारूलो लगायतका विभिन्न जिवजन्तु तथा किराहरू पाइन्छ ।
मेलम्ची नगरपालिका भित्र हिन्दु, बौद्ध, क्रिश्चियन लगायतका धर्मावलम्बीहरुको बसोबास रहेको पाइन्छ । यस क्षेत्रमा बोलिने मातृ भाषामा नेपाली, नेवारी, तामाङ, दनुवार, माझी, मगर, शेर्पा आदि रहेका छन ।
मेलम्ची नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । यस क्षेत्रमा त्रिवेणीघाट, फट्केश्वर महादेव, ईन्द्रेश्वर महादेव, गोल्मेश्वरी, सातकन्या देवी, कोटदेवी, सितलादेवी, धौलेश्वरी, कुण्डेश्वर, सिद्धेश्वर, कृष्ण मन्दिर लगायका अन्य मठ मन्दिर र गुम्बाहरु रहेका छन् । यस नगरपालिका क्षेत्रमा विशेषगरी ब्राह्म्मण तथा क्षेत्री जातीले दशै, तिहार, मातातिर्थ औंसी, बुद्ध जयन्ती, गुरु पुर्णिमा, साउने संक्रान्ती, नाग पञ्चमी, रक्षा बन्धन, कृष्ण अष्टमी, तीज, सोह्र श्राद्ध, धान्य पुर्णिमा, स्वस्थानी पूजा, माघे संक्रान्ती, श्रीपञ्चमी, महाशिवरात्री, फागु पुर्णिमा, चैते दशैं आदि पर्वहरु मनाउने गर्दछन् भने ल्होसार, घेवा जस्ता पर्व तथा रितिरिवाज तामाङ समुदायले मनाउँछन् । नेवार समुदायले ब्राह्म्मण समुदायले मनाउँने अन्य चाडपर्वको अलवा तिहारको भाइटिकाको दिन म्ह-पूजा समेत गर्दछन् ।त्यसैगरी, माझी समुदायमा आफ्नो पितृको सम्झनामा पित्रा देखाउने प्रचलन रहेको छ।
यस नगरपालिकामा रहेको कूल जनसंख्याको जातीय बनावट हेर्दा बहु–साम्प्रदायीक जात जातीहरू पाउन सकिन्छ।खास गरी मंगोलियन र आर्य सम्प्रदायहरू अन्तर्गतका विभिन्न जात जातीहरू विगत देखि नै बसोवास गर्दै आएका छन्।मंगोलियन सम्प्रदायहरूमा तामाङ्ग, मगर, घले, गुरूङ्ग, दनुवार, माझी आदि मुख्य रहेका छन् ।