समाचार
वडा नं . ७
वि.सं. २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ गाविस सामेल गरी गठित मेलम्ची नगरपालिका राज्यको पुर्नसंरचना पश्चात वि.सं. २०७३ साल फागुन २६ गते साविकका ४ गा.वि.स.हरु थप भई पुनर्गठन भएकोमा ती मध्ये दुवाचौर गा.वि.स एक हो । साविक दुवाचौर गा.वि.सको ९ वटा वडाहरूमध्ये १, २, ३, ४, ५ र ६ समावेश गरी हालको मेलम्ची नगरपालिकाको ७ नं. वडा गठन भएको हो । यो वडा 12.92 वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
दुवाचौरको नाम र इतिहासका बारेमा स्थानीय अग्रज व्यक्तिहरुको भनाई फरक फरक रहेको छ । स्थानीय वुद्धिजीवी तथा बूढापाकाहरुको भनाई अनुसार परापूर्वकालमा यहाँ एउटा कागले चुच्चोमा औषधि च्यापेर यस ठाँउमा ल्याएको थियो र त्यस कागले त्यो औषधि खाएर यस ठाउँमा रहेको दुबोमा चुच्चाले पुछेको कारणले यस ठाँउलाई दुवाचौर भनिएको हो भने अर्का थरीको भनाईलाई आधार मान्दा यस ठाउँमा परापूर्वकालमा ठूलो दुबै दुबो भएको चौर थियो, त्यही चौरको नामबाट दुवाचौर नामाकरण गरिएको हो भन्ने भनाई छ । हाल आएर मानिसको जनसंख्याको चापले गर्दा त्यस दुवो भएको चौर मासिँदै गई सानो भएको भएता पनि पहिले ठूलो दुबोको चौर भएकै कारण दुवाचौर नामकरण गरिएको भन्ने विश्वास रही आएको छ।
नेपालको राजधानी काठमाडौँबाट उत्तर पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा पर्ने मेलम्ची नगरपालिकाका १३ वटा वडाहरू मध्ये ७ नं. वडा पनि एक हो । यस वडाको पूर्वमा मेलम्ची नगरपालिका वडा नं. ९, पश्चिममा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका वडा नं. ६, उत्तरमा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका वडा नं. ८ र दक्षिणमा मेलम्ची नगरपालिका वडा नं. ११ रहेको छ । भौगोलिक हिसावले मनोरम यस वडामा न्यानो समशीतोष्ण हावापानी पाइन्छ । यहाँको वेंसी तथा तल्लो भू-भागको तापक्रम हिउँदमा ५ डिग्री सेण्टिग्रेड सम्म ओर्लन्छ भने गृष्मकालमा ३५ डिग्री सेण्टिग्रेड सम्म पुग्ने गर्दछ । जसले गर्दा यहाँ धान, मकै, गहुँ तथा तरकारी उत्पादनको लागि उपयुक्त स्थान मानिन्छ । पर्यटकीय नगरीको रुपमा विकासको सम्भावना रहेको यस वडाबाट जुगल हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । यहाँ तामाङ, ब्राह्मण, सन्यासी, नेवार, कामी, दमाई र घले गरी मिश्रीत जातजातिहरुको बसोबास भएतापनि विकास निर्माणको कार्यमा सबै जातजाति एकजुटका साथ अघि बढेको पाईन्छ । यस वडाका मानिसहरुको प्रमुख पेशा कृषि हो। यसका अलावा नोकरी, व्यापार, दुग्ध व्यवसाय, नगदे वाली तर्फ मौसमी र बेमौसमी हावापानी अनुसारको खेती गर्ने चलन रहेको छ ।